रुसमा तल्लो सदन ड्युमाको लागि भएको चुनावको प्रारम्भिक मतगणनाले प्रधानमन्त्री भ्लादिमिर पुटिनको पार्टी कमजोर बन्दै गएको देखाएको छ ।
प्रारम्भिक मत परिणामले प्रधानमन्त्री पुटिनको लोकप्रियताका निकै कमी आएको देखाएको छ । ७५ प्रतिशत मतगणना भइसक्दा पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मात्र मत प्राएको छ । यसअघि ड्युमामा दुई तिहाई बहुमत थियो ।
यस संसदीय निर्वाचनको असर तीन महिना पछि हुने राष्ट्रपति निर्वाचनमा पर्ने विश्लेषण गरिएको छ । ४ सय ५० सीट रहेको रुसी संसद ड्युमामा अब पुटिनको पार्टीको २ सय २० सीट मात्र हुने आंकलन गरिएको छ । यता रुसको एक मात्र स्वतन्त्र निर्वाचन अनुगमन समूह गोलोसमा ५ हजार ३ सयभन्दा बढी निर्वाचन कानुन उल्लंघन भएकोे उजुरी परेको छ ।
यो संस्थालाई अमेरिका र युरोपियन युनियनले आर्थिक सहयोग गरेका छन् । रुसमा आगामी मार्च ४ मा राष्ट्रपतिको चुनाव हुँदैछ । निर्वाचनमा दुई कार्यकाल राष्ट्रपति रहिसकेका वर्तमान प्रधानमन्त्री पुटिनले फेरि पनि उम्मेदवारी दिंदै छन् ।