५४० दिनको कामचलाउ सरकारपछि बेल्जियममा बल्ल नयाँ सरकार गठन

सात महिना लामो काम चलाउ सरकारको अनुभव व्यहोरेका नेपालीसमक्ष यसलाई पनि माथ गर्ने खबर आएको छ । युरोपियन मुलुक बेल्जियममा ५ सय ४० दिनको कामचलाउ सरकारपछि बल्ल नयाँ सरकार गठन भएको छ । डेढ वर्ष लामो राजनीतिक गतिरोध अन्त्यसँगै बेल्जियमका नरेश एल्बर्ट द्धितीयले नयाँ सरकार गठन गर्नुभएको हो ।

 

 

फ्रान्सेली भाषा बोल्ने समाजवादी एलियो डि रुपो नयाँ सरकारको प्रधानमन्त्रीका रुपमा मंगलवार सपथ लिँदैछन् । फ्रान्सेली भाषिक मूलका रुपोले तीन दशकपछि र समाजवादी दलले १९७४ पछि सरकारको नेतृत्व गर्न लागेको हो । सन् २०१० को अप्रिलमा भाषा विवादका कारण तात्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि बेल्जियममा कामचलाउ सरकार रहेको थियो । गत साता मात्र छ पार्टीले मिलेर डि रुपोको नेतृत्वमा सरकार गठन गर्ने निर्र्णय गरेपछि लामो समयदेखिको अन्यौल सकिएको हो ।

 

बेल्जियम भाषिक आधारमा संघीयतामा गएपछि पछिल्ला वर्षमा खुबै विवादमा तानिएको छ ।