चीन युद्धका लागि तयार

चीनका राष्ट्रपति हु जिन्ताओेले चिनियाँ नौ सेना युद्धका लागि तयार रहनुपर्ने बताउनुभएको छ ।

 

सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै राष्ट्रपति हु ले नौ सेना युद्धका लागि विस्तारित ढंगबाट तयार रहन निर्देशन दिनुभयो । उहाँले नौ सेनाको तिब्र ढंगबाट परिवर्तन र आधुनिकीरण हुनुपर्ने र युद्धका लागि तयार रहेर राष्ट्रिय सुरक्षामा बढीभन्दा बढी योगदान दिनुपर्ने उल्लेख गर्नुभयो ।

 

चीनको दक्षिणी प्रशान्त महासागरमा विभिन्न मुलुकसंग क्षेत्रीय विवाद छ । अमेरिका प्रशान्त महासागरमा आफ्नो उपस्थिति बढाउने प्रयासमा रहेको छ । चीन र अमेरिकाबीच पनि राजनीतिक तनाब बढिरहेका बेला चिनियाँ राष्ट्रपतिका तर्फबाट यस्तो भनाई सार्वजनिक भएको हो । हु को भनाइ लगत्तै अमेरिकाले चीनलाई आफ्नो सुरक्षा गर्ने अधिकार रहेको प्रतिक्रिया दिएको छ ।

 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता एडमिरल जोन किर्बीले युद्ध कसैले पनि नचाहेको भन्दै कुनै पनि देशले आफ्नो नौ सेनाको विकास गर्न खोज्नु अमेरिकाको लागि चिन्ताको विषय नभएको जनाएका छन् । यता वरिष्ठ चिनिया र अमेरिकी अधिकारीहरु भने सैन्य मुद्धमा छलफलमा जुटेका छन् ।