अमेरिकाको इलिनस राज्यका पूर्व गभर्नर रड ब्लागोजेविचलाई भष्टाचारको अभियोगमा १४ वर्षको जेल सजाय

अमेरिकाको इलिनस राज्यका पूर्व गभर्नर रड ब्लागोजेविचलाई भष्टाचारको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

 

गत जुन महिनामा ब्लागोजेविच विरुद्ध १७ वटा मुद्धा दायर गरिएको थियो । उनीमाथि बाराक ओबामा अमेरिकी राष्ट्रपति बनेपछि खाली भएको अमेरिकी सीनेटको सीट बेचेको आरोप लागेको थियो । शिकागोमा सजाय सुनाइएपछि आफ्नो गल्ती स्वीकार गर्दै ब्लागोजेविचले आफ्नो कार्यविरुद्ध अफशोस भएको बताए ।

 

उनले आफ्नो जीवन र राजनीतिक भविष्य ध्वस्त भएको भन्दै दुख व्यक्त गरेका छन् । ब्लागोजेविचको जेल सजाय आगामी १६ फेब्रुअरीबाट शुरु हुनेछ र उनले २० हजार डलर जरिवाना पनि तिर्नु पर्ने छ ।

 

कारागारमा दैनिक करिब आठ घण्टा सम्म काम गर्नु पर्ने र यसको बदलामा उनले लगभग एक डलर पाउने छन् । सन् २००८ मा गभर्नर रहेकै बेला भ्रष्टाचारको आरोपमा उनी पक्राउ परेका थिए ।

 

५४ वर्षिय ब्लागोजेविच सन् २००२ मा इलिनस राज्यको गभर्नर चुनिएका थिए । सन् २००८ मा भ्रष्टाचारको मामिलामा पक्राउ परेपछि राज्यका विधायकहरुले उनलाई पदबाट बर्खास्त गरेका थिए ।