अफ्रिकी मुलुक कंगोमा सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति कबिला विजयी



 

अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जोसेफ कबिला विजयी भएका छन् ।

 

कबिलाले ४९ र उहाँका प्रतिष्पर्धी इटिनेन शिसेकेडीले ३२ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । तर शिसेकेडीले परिणाम अस्वीकार गर्दै आफैलाई राष्ट्रपति घोषणा गरेका छन् । योसँगै डेमोक्रेटिक रिपब्लीक अफ कंगोंमा हिंसा भड्किने आशंकामा राजधानी किन्सासामा दंगा प्रहरी परिचालन गरिएको छ ।

 

निर्वाचन परिणामको सर्वोच्च अदालतद्धारा पुष्टि गर्न बाँकी छ । ४० वर्षिय कबिला आफ्ना बाबु लरेण्टको मृत्युपछि सन् २००१ बाट राष्ट्रपति बनेका छन् । भौगोलिक हिसाबले विश्वको १२ औं ठूलो मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सन् १९९६ देखि २००३ सम्म चलेको गृहयुद्धको अन्त्यपछि यो दोस्रो राष्ट्रपति निर्वाचन हो ।

 

गृहयुद्धमा ४० लाख मानिस मारिएका थिए । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत नेपाली सेनासहित विभिन्न मुलुकका २० हजार सैनिक तैनाथ छन् ।