सिरियामा सरकार विरोधी प्रदर्शनका क्रममा भएको पछिल्लो हिंसामा २४ जना मारिएका छन् । राजधानी दमस्कसको आपसपास र होम्स् शहरमा शुक्रबारे प्रार्थना सभापछि प्रदर्शनमा उत्रिएकामाथि सरकारी दमनमा उनीहरु मारिएको बताइएको छ । सरकारले भने आतंककारीको आक्रमणबाट आठ जना सुरक्षाकर्मी मारिएको जनाएको छ । चर्को सरकारी दमनबीच पनि प्रदर्शनकारीले दमस्कसलगायत शहरमा विरोध जारी राखेका छन् ।
प्रदर्शनकारीको केन्द्र मानिएको डेराअ शहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ भने विदेशी सञ्चार माध्यममाथिको प्रतिबन्ध पनि कायमै छ । यता सिरियामा बढ्दो दमन र हिंसाविरुद्ध अमेरिका र युरोपियन युनियनले लगाएको आर्थिक नाकाबन्दीमा टर्की र अरब लीगले पनि साथ दिएका छन् । सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको शासनविरुद्ध भैरहेको प्रदर्शनमा चार हजारभन्दा बढी मारिइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।