पाकिस्तानद्धारा नेटो सेनाका लागि सामान आपूर्ति गर्न आफ्नो देशको बाटो प्रयोग गरिएबाट अतिरिक्त ब्ययभार परेको भन्दै नेटो गठबन्धन सेनासँग रकम माग

पाकिस्तानले अफगानिस्तानमा तैनाथ नेटो सेनाका लागि सामान आपूर्ति गर्न आफ्नो देशको बाटो प्रयोग गरिएबाट अतिरिक्त ब्ययभार परेको भन्दै नेटो गठबन्धन सेनासँग रकम मागेको छ । पाकिस्तानका दुरसञ्चार मन्त्री अरबाब अलमगीरले नेटोले प्रयोग गरेको ट्यांकरका कारण करिब एक अरब डलर नोक्सान भएकाले नेटो सेनासंग रकम मागिएको बताउनुभयो । उहाँले क्षतिपूर्तिका लागि नेटो सेनालाई पत्र लेखिए पनि त्यसको जवाफ आइनसकेको जानकारी दिनुभयो । नेटोले पाकिस्तानका तीन वटा सडक अफगानिस्तान लैजाने खाद्यान्न ढुवानी मार्गका रुपमा प्रयोग गर्दै आएको छ ।


यी मार्ग हुँदै दैनिक करिब चार सय मालवाहक कन्टेनर पाकिस्तानको सीमा पार गर्ने गर्दछन् । गत नोभेम्बर २६ मा नेटो सेनाले अफगानिस्तानसंग सीमा नजिकको पाकिस्तानी चेक पोष्टमा आक्रमण गरि २५ पाकिस्तानी सेना मारिए लगत्तै पाकिस्तानले आपूर्ति मार्गहरु बन्द गरेको छ । आक्रमणपछि पाकिस्तानको नेटो र अमेरिकासँग सम्बन्ध तनाबपूर्ण बनेको छ ।