चीनले भारतमाथि आक्रमणको योजना बनाइरहेको भन्ने आशंकामा सत्यता नरहेको मनमोहन सिंहको स्पष्ट

भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले चीनले भारतमाथि आक्रमणको योजना बनाइरहेको भन्ने आशंकामा कुनै सत्यता नरहेको बताउनु भएको छ ।

 

तर समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवले भने चीनले भारतमा आक्रमण गर्न सक्ने जानकारी आफुसंग भएको जिकिर गर्नुभएको छ । प्रधानमन्त्री सिंहले दुवै मुलुक वार्ता मार्फत सीमा विवाद समाधान गर्ने पक्षमा रहेको बताउनुभयो ।

 

भारतीय संसदमा जवाफ दिंदै प्रधानमन्त्री सिंहले चीनसँंग जोडिएका भारतीय सीमाहरुमा वातावारण शान्त रहेको दाबी गर्नुभयो । भारतले आफ्नो भूभाग मान्दै आएको क्षेत्रमा चीनका तर्फबाट घुसपैठको कोशिस भएको भन्ने विषयमा भने उहाँले सहमति जनाउनु भयो । भारतीय प्रधानमन्त्रीले ब्रह्मपुत्र नदीको पानीको बहाव नरोक्ने आश्वासन चीनले दिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री सिंहले चीनसंग वार्ता मार्फत सम्बन्ध सुधार गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नु भयो ।