भारतको पश्चिम बंगालको ट्वेन्टी फोर परगना जिल्लामा विषाक्त रक्सी सेवनबाट मृत्यु हुनेहरुको संख्या १ सय ७० पुगेको छ । अस्पतालमा अझै पनि ९० भन्दा बढी विरामीहरु जीवनका लागि संघर्षरत रहेकाले मृतकहरुको संख्या बढ्नसक्ने चिकित्सकलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनामा संलग्न १२ जनालाई पक्राउ गरेको छ भने अवैद्य मदिराका मुख्य व्यापारी खोनरा बादशाहको खोजीकार्य तीव्र पारेको छ ।
मृतकहरु मध्ये धेरै जसो रिक्साचालक र मजदुर हुन् । पश्चिम बंगाल सरकारले प्रत्येक मृतकको परिवारलाई दुई दुईं लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । रक्सीमा मिथाइल अल्कोहल मिलाइएको आशंका गरिएको छ । घटनापछि आक्रोशित पीडित परिवारहरुले अवैध मदिरा उत्पादन तथा बेचबिखन गर्ने कैयौं पसलमा तोडफोड गरेका छन् ।