लिवियाको केन्द्रीय बैंक र लिवियामा रहेका विदेशी लगानी बैंकहरु माथि लगाइएको प्रतिबन्ध फुक्का

संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्ले लिवियाको केन्द्रीय बैंक र लिवियामा रहेका विदेशी लगानी बैंकहरु माथि लगाइएको प्रतिबन्ध फुक्का गरेको छ ।

 

लिवियामा अहिले विद्यमान नगद संकट कम गर्न परिषद्ले यो निर्णय गरेको बताइएको छ । लिवियाका बैंकहरुको विदेशमा रहेको सम्पत्ति लिवियाका नेता कर्णेल गद्धाफी विरुद्ध लगाइएको प्रतिबन्धका एक हिस्साका रुपमा रोक्का गरिएको थियो । गद्धाफीलाई लिवियाका विद्रोही सेनाले मारे पछि विदेशी बैंकहरुमा रहेको लिवियाको सम्पत्ति फिर्ताको प्रसंग शुरु भएको थियो । बेलायती विदेशमन्त्री विलियम हेगले परिषद्को निर्णयलाई लिवियाको पूननिर्माणको दिशामा महत्वपूर्ण कदम भएको बताउनु भएको छ ।

उहांले बेलायतमा रहेको लिवियाको ६ दशमलब ५ करोड पाउण्ड फुक्का गर्ने जानकारी दिनुभयो । अमेरिकाले पनि परिषद्को निर्णयको स्वागत गर्दै अमेरिकामा रहेको ३० करोड डलर भन्दा बढी लिवियाको सम्पत्ति फुक्का गर्ने जनाएको छ । हालै मात्र लिवियाको अन्तरिम सरकारले कर्मचारीलाई तलब दिन र दैनिक कार्य सञ्चालनका लागि भन्दै विदेशमा रोक्का गरिएको १ सय ५० करोड डलर सम्पत्ति फुक्का गर्न आग्रह गरेको थियो ।