बर्माको रंगुनमा भएको विष्फोटमा परि कम्तिमा १५ जना मारिए

बर्माको राजधानी रंगुनको एक गोदाममा भएको विष्फोटमा परि कम्तिमा १५ जना मारिएका छन् । मारिनेमा तीन जना अग्नी नियन्त्रक कर्मचारी पनि परेको बताइएको छ ।

 

शहरको पूर्वी भागमा रहेको उक्त गोदाममा राती भएको विष्फोटमा अरु धेरै घाइते भएको बताइएको छ । गोदाममा लागेको आगो मानिसहरु सुतिरहेको नजिकै काठको घरमा सल्किएपछि बढी मानवीय क्षति भएको अनुमान गरिएको छ ।

 

उक्त गोदामका रसायन र निर्माण उद्योग तथा नुन उत्पादनका लागि प्रयोग गरिने सामान राखिंदै आएको थियो । विष्फोटको कारण भने थाहा हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

 

बर्मामा पछिल्लो समय विष्फोटका घटनाहरु निकै हुने गरेका छन् । सरकारले विष्फोटमा पृथकतावादीहरुको हात रहेको आशंका गर्दै आएको छ ।