उत्तर कोरियाद्धारा विगतको आफ्नो नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट

उत्तर कोरियाले विगतको आफ्नो नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । उत्तर कोरियाका नव घोषित सर्वोच्च नेता किम जोङ उनले आफ्नो पिताको निधन अघि र पछिको उत्तर कोरियाको नीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पार्नुभएको हो ।

 

उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा आयोगले सरकारी सञ्चार माध्यम मार्फत जारी गरेको सन्देशमा उत्तर कोरियाको दक्षिण कोरिया र अमेरिका लगायत विश्वका अन्य राष्ट्रहरुप्रतिको नीतिमा कुनै परिवर्तन नहुने उल्लेख छ ।

 

सन्देशमा दक्षिण कोरियाको सरकारलाई कठपुतली भन्दै र बिश्वका नेताहरुलाई उत्तर कोरियाको नितीमा कुनै प्रकारको परिवर्तन नहुनेमा ढुक्क हुन भनिएको छ । सन १९९४ मा किम जोङ इलले नेतृत्व सम्हालेयता दुई वटा परमाणु परीक्षण गरेको थियो ।

 

उत्तर कोरियाको परमाणु परिक्षणलाई लिएर अमेरिका लगायतका देशहरुले चिन्ता ब्यक्त गर्दै आएका छन् । अमेरिका, दक्षिण कोरिया र जापानसँग उत्तर कोरियाको तिक्ततापूर्ण सम्बन्ध छ ।