पेरुबाट गोन्जालोको माओवादीलाई पत्र, शान्ति र संविधानको बाटो अपनाएर अघि बढ्न अनुरोध

– किरण भण्डारी/सुन्दर खनाल (नागरिक)

 

काठमाडौं  – पेरुमा माओवादी ‘जनयुद्ध’ सञ्चालन गरेको पार्टी साइनिङ पाथका अध्यक्ष गोन्जालोले एकीकृत माओवादीलाई पत्र लेखी शान्ति र संविधानको बाटो अपनाएर अघि बढ्न अनुरोध गरेका छन्।

करिब सत्तरी हजारको ज्यान गएको गुरिल्ला युद्ध सञ्चालन गरेका गोन्जालो २० वर्षदेखि जन्म कैदमा छन्। उनले माओवादीलाई हालै पठाएको पत्रमा ‘आफूलाई अहिलेसम्मको भोगाइबाट जनयुद्ध हैन, शान्तिपूर्ण बाटोबाट जनवाद आउँछ भन्ने लागेको’ उल्लेख गरेका छन्।

माओवादी अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार गोन्जालोले सन्देशमा ‘वर्तमान विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन शान्तिपूर्ण बाटोबाट अघि बढ्नुको विकल्प नरहेको’ लेखेका छन्।


‘गोन्जालो बन्दी हुनुभएकाले आफैं लेख्नुभएको हैन,’ महराले भने, ‘जेलमा भेट्न गएका कम्युनिष्ट नेताले उहाँको सन्देश जस्ताको तस्तै उतारेर पत्र पठाएका हुन्।’


उक्त पत्र माओवादीलाई कम्युनिस्ट इनटरनेसनल मार्फत आएको हो। ‘कुनै बेला संसारकै ठूलो जनयुद्ध हाँकेका नेता गोन्जालोले आफूले पनि पनि शान्ति वार्ताका लागि सरकारसँग प्रस्ताव राखेको उल्लेख गरेका छन्,’ महराले भने, ‘हाम्रो पार्टीले पाँच वर्षदेखि लिएको लाइनबाटै अघि बढ्नुपर्छ भन्ने सन्देश गोन्जालोको छ।’

दर्शनशास्त्रको प्राध्यापन पेसा छाडेर भूमिगत भएका एबिमल गुजमान उर्फ गोन्जालो सन् १९७० मा साइनिङ पाथकोे संस्थापक भए। उनको नेतृत्वमा १९८० देखि चलेको युद्धमा ६९ हजार २ सय ८० ले ज्यान गुमाएको आँकडा पेरु सरकारको उच्च स्तरीय छानबिन समितिले निकालेको छ। गोन्जालो सन् १९९२ मा पक्राउ परेपछि उनको पार्टी लगभग तहसनहस छ।


गोन्जालोको पत्र माओवादीको चालु केन्द्रीय समिति बैठकमा ‘हट टपिक’ बनेको छ। अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईको नेपाली मोडेलको मार्क्सवाद तथा शान्ति र संविधानको लाइन पक्षधर माओवादी नेताले गोन्जालोको पत्र उद्धृत गर्ने गरेका छन्।


स्रोतका अनुसार स्थायी समिति सदस्य एवं स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले उक्त पत्रको आडमा उपाध्यक्ष मोहन वैद्य पक्षको राजनीतिक प्रस्तावको प्रखर आलोचना गरिरहेका छन्।


अध्यक्ष दाहालको प्रस्तावविरुद्ध वैद्यले शान्ति र संविधानको अहिलेको पथ त्यागेर सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्नुपर्ने प्रस्ताव ल्याएका छन्। ‘अबको कम्युनिष्ट आन्दोलनमा वैद्यजीले भनेजस्तो जनयुद्ध वा सशस्त्र संघर्षको म्याद गुज्रेको लाइन काम छैन भन्ने ज्ञान २० वर्ष जेल बसेपछि गोन्जालोलाई समेत भएछ,’ रायमाझीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुईपटक प्रधानमन्त्री पाइसकेको हाम्रो पार्टी जनयुद्ध भनेर फेरि जंगल पस्यौं भने जनताले हामीलाई भाटा हानेर लखेट्छन्।’


२०४७ सालमा मोहनबिक्रम सिंह नेतृत्व त्यागेर दाहाल नेतृत्वको पार्टीमा प्रवेश गरेदेखि नै भट्टराई निकटस्थ रहँदै आएका रायमाझीले ७७ वर्षीय बुजु्रक गोन्जालोको पत्रबाट ‘अलङ्कार’ बुझ्नुपर्ने बताएका छन्।


‘युद्धको विभीषिकाबाट पाठ सिकेरै गोन्जालोले पनि शान्ति भन्न थालेको बेला जनताको मतबाट ठूलो पार्टी बनेका हामीले अब कोसँग युद्ध गर्ने?’ रायमाझीले भने, ‘जनयुद्धका बेला नेपालमा नभएका नेतालाई अझै युद्धको धङधङी लागिरहेकै मात्र हो।’


अध्यक्ष दाहालको प्रत्येक कदमको आलोचनामा उत्रने वैद्य र सचिव सिपी गजुरेल माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुग्नुअघि नै भारतमा पक्राउ परेका थिए। सात दलसँग बाह्रबुँदे सहमतिपछिको आन्दोलनले लोकतन्त्र स्थापना गरेपछि मात्र उनीहरु माफी पाएर स्वदेश आएका हुन्।

एक स्थायी समिति सदस्यका अनुसार रायमाझीले युद्धको अर्थशास्त्र समेत जनताले धान्नै नसक्ने खालको भएकाले अब सशस्त्र संघर्ष पूर्णतयाः असान्दर्भिक भइसकेको तर्क नेताहरुसँग दोहोर्‍याइ/तेहेर्‍याइ राखिरहेका छन्।


‘एउटा सदरमुकाम आक्रमण गर्न बीसौं करोड खर्च हुन्थ्यो,’ रायमाझीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सधंै पैसा र रगतको खोलो बगाइरहने?’ यस्ता युद्धबाट जन, धन दुवैको भार जनताको थाप्लोमा पर्ने हुँदा अब सशस्त्र संघर्ष धान्न नसक्ने तर्क उनले प्रस्तुत गरेका छन्।


‘युद्ध गरेर सत्ता कब्जा गर्ने चिनियाँ र रुसी मोडेल विश्वमा अन्यत्र कतै पनि सफल हुन सकेन,’ रायमाझीले भने, ‘नेपालमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश अनुकूलको मार्क्सवाद मात्र फाप्छ भन्ने हाम्रो धारणालाई गोन्जालोको पत्रले सिद्ध गरिदिएको छ।’


माओवादी बैठकमा वैद्य पक्षधरले पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठन र विदेशका पार्टीको हवाला दिँदै युद्धको पक्षमा तर्क गर्ने गरेका छन्। उनीहरुले रिभोल्युसनरी इन्टरनेस्नलिष्ट मुभमेन्ट (रिम), कम्पोसा, भारतीय कम्युनिष्ट पार्टी (माओवादी) लगायतले वैद्यको कडा लाइनको समर्थन गरिरहेको भन्दै सत्ता कब्जा गरेरै जानुपर्ने तर्क गरिरहेका छन्।


अन्तर्राष्ट्रिय विभाग प्रमुख महराले बैठकमा आफ्नो तर्क बलियो बनाउन विभिन्न कम्युनिष्ट संगठनलाई उद्धृत गर्ने होड चले पनि गोन्जालो बाहेक अरुको सन्देश नआएको जानकारी दिए।


‘रिम, कम्पोसा वा भारतीय माओवादीसँग अहिले पार्टीको कुनै सम्बन्ध छैन,’ उनले भने, ‘त्यसैले उनीहरुले पत्र लेख्ने कुरै भएन, साइनो नभएका ती संगठनले हाम्रो के क्रियाकलापमा समर्थन वा विरोध गर्छन् भन्नुको पनि अब तुक छैन।’