ईरानबाट तेल आयातमा प्रतिबन्ध लगाउने विषयमा युरोपीय संघ आवद्ध देशहरुले सैद्धान्तिक सहमति जनाएका छन् । यसको औपचारिक घोषणा भने युरोपेली संघका विदेशमन्त्रीहरुको यो महिनाको अन्त्यमा हुने बैठकमा गरिने भएका छ । इरानलाई परमाणु कार्यक्रम समाप्त गर्न दबाब दिने उद्धेश्यले यो सहमति गरिएको बताइएको छ । ईयुको सहमतिसंगै अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य बढेको छ ।
युरोपेली मुलुकहरुले इरानको तेल खरिद नगरे इरानले एसियाली मुलुकहरुमा बिक्रिको प्रयास गर्नु पर्ने स्थिति आउछ । अहिले इरानको कुल तेल निर्यातको १७ प्रतिशत युरोपेली मुलुकहरुमा निर्यात हुने गरेको छ । इरानमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले ईयुको निर्णयको स्वागत गरेको छ । तर इरानले भने ईयुको नयां प्रतिबन्धको धम्कीले शान्तिपूर्ण उद्धेश्यको परमाणु कार्यक्रम स्थगित नहुने जनाएको छ ।
यसैगरी अमेरिकाले इरानी बैंकहरुमा लगाएको प्रतिबन्धका कारण इरानी मुद्राको अवमुल्यन भएको विश्लेषण पनि इरानले अस्वीकार गरेको छ ।