आर्थिक मन्दीको असर झेलिरहेको अमेरिकमा बेरोजगारी दरमा कमी आएको छ । अमेरिकामा पछिल्लो तीन वर्ष यता कै बेरोजगारी दरमा कमी आएर ८ दशमलब ५ प्रतिशतमा झरेको छ । गत डिसेम्बर महिनामा मात्रै दुई लाखभन्दा बढी रोजगारीको अवसर श्रृजना भएको छ । डिसेम्बर महिनामा निजी क्षेत्रमा २ लाख १२ हजारले रोजगारी पाए भने सरकारी क्षेत्रमा वर्षैभरी २ लाखले मात्र रोजगारी पाएका थिए । निजी क्षेत्रको उल्लेख्य योगदानका कारण बेरोजगारी दरमा कमी आएको बताइएको छ । खुद्रा, म्यानुफ्याक्चरिङ, पारवहरन, गोदाम र स्वास्थ्य सेवामा नयाँ रोजगारी श्रृजना भएको हो ।
सन् २०११ मा करिब १० लाख रोजगारीको सम्भावना देखिएको थियो र यो संख्या सन् २००६ पछि कै सबैभन्दा धेरै हो । पछिल्ला केही वर्षदेखि अमेरिकामा बेरोजगारी दर लगातार ९ प्रतिशत थियो । गत अक्टोबर महिनामा त बेरोजगारी दर १० प्रतिशत नाघेको थियो । नयाँ तथ्यांकले अमेरिकी अर्थव्यवस्थामा मन्दीबाट पार पाउने सम्भावना बढेको देखाएको छ । राष्ट्रपति बाराक ओबामाले बेरोजगारी दरमा आएको कमीले अमेरिकी अर्थव्यस्था सही दिशामा गइरहेको भन्दै खुशी व्यक्त गर्नुभएको छ । अमेरिकामा रोजगारीको अवसर बढ्दै गए नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा विपक्षी रिपब्लिकन पार्टीलाई असर पर्ने विश्लेषण गरिएको छ । रिपब्लिकन पार्टीले बेरोजगारीलाई राजनीतिक मुद्दा बनाउने सम्भावना छ ।