नाइजेरियाका उत्तरी शहरहरुमा गाडीमा सवार बोको हरामका लडाकुहरुले क्रिश्चियन समुदायका व्यक्तिहरुलाई लक्षित गरि गोली चलाउंदा कम्तिमा २० जना मारिएका छन् । अदमावा प्रान्तको गोम्बे र मुबी शहरमा बोको हरामले गरेको कारवाहीमा अरु धेरै घाइते भएका छन् । मुबी शहरमा बोको हरामले गरेको आक्रमणमा मारिएका एक व्यक्तिको शोकमा जम्मा भएकाहरु आक्रमणको निशाना बनाइएका थिए । गत बिहिवार मात्र गोम्बे शहरको एक चर्चमा सांझको प्रार्थना सभाका क्रममा बोको हरामका लडाकुहरुले चलाएको गोली लागि केही व्यक्ति मारिएका थिए । नाइजेरियामा विगत केही हप्ता यता बोको हरामले लगातार क्रिश्चियन समुदायमाथि आक्रमण गर्दै आएको छ ।
गत वर्ष मात्र बोको हरामको आक्रमणमा ५ सय भन्दा बढी मानिस मारिएका थिए । नाइजेरियामा विगत केही वर्ष देखी वर्तमान सरकार हटाई ईस्लामिक राष्ट्र बनाउनुपर्ने माग राखेर बोको हरामले सशस्त्र संघर्ष गर्दै आएको छ ।