सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भैरहेको प्रदर्शनमा हिजो मात्रै २७ जना मारिएका छन् ।
राजधानी दमस्कसमा शुक्रबार गराइएको बम आक्रमणमा २६ जना मारिएको भोलिपल्टै सरकारी सेनाले हानेको गोली लागि प्रदर्शनकारीहरु मारिएका हुन् । सरकारले शुक्रवारको घटना आतंककारीहरुले गराएको जनाएको छ । तर विपक्षीहरुले भने सरकारले नै विष्फोट गराएको दाबी गरेका छन् ।
शुक्रवार मारिएकाहरुको शोक सभामा राजधानी दमस्कसमा हजारौ सरकार समर्थक भेला भएका थिए । विपक्षी समुह र स्थानिय समन्वय समितिहरुले शनिवार होम्स् शहरमा ८ , इदलीबमा १३ जना र अरु शहरमा पनि धेरै प्रदर्शनकारी मारिएको जनाएका छन् ।
अरब लीगका अनुमगमनकर्ता क्षेत्रिय शान्ति योजनाको समिक्षाका लागि सिरियाका विभिन्न शहरमा सक्रिय रहेपनि हिंसामा कुनै कमी आएको छैन् । सिरियाको पछिल्लो अबस्थाबारे अनुगमनकर्ताहरुले दिने पहिलो रिपोर्टको विषयमा इजिप्टको राजधानी कायरोमा छलफल हुंदैछ । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनमा ५ हजार भन्दा बढी मारिइसेकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।