टीनएजरमा जाँडरक्सी सेवन बढ्यो
जति पढैया, उति बढि कुलत
२४ पुस, काठमाडौं । नेपालका हरेक पाँच जनामा एक जना किशोरकिशोरी तथा युवायुवतीले मदिरा सेवन गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले करिव ९ हजार युवामाझ गरेको सर्वेक्षणले १० देखि २४ बर्षबिचका १८ प्रतिशत किशोरकिशोरी तथा युवायुवतीको मदिरा सेवन गर्ने लत रहेको देखाएको छ । अध्ययनले सयमा १३ जना किशोरकिशोरी र युवायुवतीले धूमपान गर्ने गरेका छन् भने ६ प्रतिशत युवायुवती र किशोरकिशोरी लागू औषधको कुलतमा फसेका छन् ।
१० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको विस्तृत सर्वेक्षणले उमेर तथा शिक्षाको स्तर बढ्दै जाँदा युवायुवतीमा रक्सी खाने लत पनि बढ्दै जाने देखाएको छ । यसरी घरायासी वा अरु विभिन्न कडा खालका मदिरा सेवन गर्नेहरुमा केटीहरु भन्दा केटाहरुको संख्या तेब्बर बढि छ । मदिरा सेवन गर्नेमा गाउँले भन्दा सहरीया केटाकेटीहरु बढि छन् । सहरी युवाहरुमा हरेक सय जनामा २६ जनाले रक्सी खान्छन् भने गाउँले युवाहरुमा सयमा १६ जनाले मात्र रक्सी खाने गरेका छन् ।
यस्तै धूमपानको सेवनमा पनि सहरीया युवायुवती र किशोरकिशोरीहरु अगाडि देखिएका छन् । १८ प्रतिशत सहरीया केटाकेटीहरुले धूमपान गर्ने गर्छन् भने धूमपान गर्ने गाउँले केटाकेटीहरुको संख्या ११ प्रतिशत छ । किशोरकिशोरीहरुले भन्दा २० देखि २४ वर्ष उमेर समूहका युवायुवतीहरुले बढि धूमपान गर्ने गरेको पाइएको छ । अझ रोचक कुरा त के भने शिक्षित किशोरकिशोरी र युवायुवतीहरु धूमपानको मामिलामा पनि अशिक्षित युवायुवती भन्दा अघि छन् । धूमपान गर्ने शिक्षित केटाकेटीको संख्या २२ प्रतिशत छ भने १५ प्रतिशत अशिक्षित केटाकेटीले मात्र धूमपान गर्ने गरेका छन् ।
यस्तै सयमा ६ जना युवायुवती वा किशोरकिशोरी लागुऔषधको कुलतमा फसेका छन् । लागुऔषध सेवन गर्नेमा धेरैजसो २० देखि २४ वर्ष उमेर समूहका सहरी क्षेत्रका युवा छन् ।
यसैबीच धूमपान, मध्यपान र लागु औषध सेवन गर्नेमा हुनेखाने वर्गका जनजातीहरुको संख्या बढि पाइएको छ । जनजातीहरुमा धूमपान, मध्यपान र लागु औषध सेवनको दर उच्च पाइएको छ । अझ हुनेखाने वर्गका जनजातीका छोराछोरीहरु यस्तो कुलतमा बढि फस्ने गरेका छन् । हुनेखाने वर्गका जनजातिमा झण्डै ३३ प्रतिशत युवायुवतीले मदिरा सेवन गर्ने गरेका छन्, त्यस्तै १७ प्रतिशतले धूमपान र ६ प्रतिशतले लागु औषध सेवन गर्ने गरेका छन् । यस्तै निम्नवर्गका जनजातिका २८ प्रतिशत युवायुवतीले रक्सी खाने, १४ प्रतिशतले धूमपान गर्ने र ३ प्रतिशतले लागु औषध सेवन गर्ने गरेका छन् ।
जनजातीपछि दलित समुदायका युवायुवती धूमपान र मध्यपानको लतमा बढि फसेका छन् भने बाहुन लगायतका उपल्लो जातका छोराछोरीहरु पनि जाँड रक्सी र चुरोट खाने मामिलामा प्रतिस्पर्धामै उत्रिएका छन् । उपल्लो जातका युवायुवतीहरु धूमपान मध्यपानको मामिलामा तेश्रो स्थानमा छन् । बाहुनपछि तराईका निम्नवर्गिय समुदायमा धूमपान मध्यपानको लत बढि छ भने धार्मिक रुपमा अल्पसंख्यक समुदायका युवायुवती र किशोरकिशोरीहरुमा यस्तो लत कम पाइएको छ ।
यस्तै आाफैले रोजेको विवाह गर्ने प्रचलन बढेको देखिएको छ । ५३ प्रतिशतले आफैँले रोजेको विवाह गर्ने गरेका छन् । यस्तै पहिलो प्रेमको औसत उमेर १६ वर्ष देखिएको छ भने प्रेम सम्वन्धको औसत समयावधि १४ महिना । यसैगरी पहिलो यौन सम्पर्कको उमेर साढे १७ वर्ष भएको अध्ययनले देखाएको छ । मन्त्रालयले सन् २०१० को डिसेम्बरसम्म गरी चार महिनामा मुलुकको ९ हजार घर परिवारमा सर्वेक्षण गरि तथ्यांक संकलन गरेको हो /
रा स स