कलाकार पावलो पिकासोले तयार पारेको महिलाको पोट्रेट ग्रीसको राष्ट्रिय संग्रहालयबाटै चोरिएको छ । दोस्रो विश्वयुद्धताका नाजी शासकहरुविरुद्ध ग्रीसका नागरिकले गरेको प्रतिरोधको सम्मानमा एथेन्सस्थित नेसनल आर्ट ग्यालरीलाई दिइएको चित्र चोरिएको हो । सन् १९३९ मा बनाइएको उक्त तस्वीर सोमवार राति चोरिएको बताइएको छ । उक्त चित्र पिकासोले ग्यालरीलाई सन् १९४६ मा दान गर्नुभएको थियो । चोरले पिकासोको चित्रसँगै गुग्लिमो काकियाको चित्रहरु पनि चोरेका छन् । बारम्बार घन्टी बजिरहेपछि सुरक्षाकर्मीले सुरक्षा घन्टी अफ गरेका थिए । त्यसपछि चोरले सजिलै चित्रहरु त्यहाँबाट चोरेको खबरमा जनाइएको छ ।
त्यहाँको समयअनुसार बिहान साढे ४ बजे अस्थायी प्रदर्शनी क्षेत्रबाट छिरेका चोरले बाल्कोनीमा रहेको झ्याल नै झिकेको पाइएको छ । चोरी सुरु भएपछि त्यसको दृष्य मोनिटरमा देखेका सुरक्षाकर्मीले एकजनालाई पछ्याएपनि समात्न भने सकेनन् ।