बर्मामा बृहत् स्वायत्तताको माग राख्दै ६० वर्षदेखि सशस्त्र संघर्ष गर्दै आएको करेन विद्रोही र सरकारबीच युद्धबिराम

बर्मामा बृहत् स्वायत्तताको माग राख्दै ६० वर्षदेखि सशस्त्र संघर्ष गर्दै आएको करेन विद्रोही र बर्मा सरकारबीच युद्धबिराम सम्झौता भएको छ ।

 

सरकारी अधिकारी तथा करेन नेसनल युनियनबीच पूर्वी करेनको राजधानी हपाआनमा हिजो युद्धविराम सम्झौतामा हस्ताक्षर भएको हो । दुवै पक्षबीच युद्धविराम गर्ने, सम्पर्क कार्यालय खोल्ने र एकअर्कोका भूभागमा जान दिने सहमति भएको छ् ।

 

करिव ६ दशकमा पहिलोपटक भएको लिखित युद्धविराम सम्झौताको युनियनका नेता डेभिड हतावले स्वागत गरेका छन् ।

 

वर्मा सरकारले सन् १९८९ यता १७ बटा विद्रोही समूहसँग वार्ता गरिसकेको छ । गत वर्ष थाइल्यान्डको सीमानजिकै सान र करेनसहित धेरै जातीय समूहसँग सरकारले वार्ता गरेको थियो ।