पाकिस्तानमा बढ्दो तनाबकाबीच संसदमा प्रधानमन्त्री युसुफ रजा गिलानीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । सोमबार बस्ने संसद बैठकमा उहांले विश्वासको मत प्राप्त गर्ने प्रयास गर्नुहुने बताईएको छ । देशमा राजनीतिक संकट गहिरिदै गर्दा अचानक एक दिने व्यक्तिगत यात्रामा दुबई गएका राष्ट्रपति आसिफ अली जर्दारी स्वदेश फर्कनु भएको छ ।
जर्दारीको स्वदेश फिर्तीसंगै सरकार र सेनाबीच बढ्दो तनाबलाई लिएर उहांले देश छोडेको हल्ला साम्य भएको छ । जर्दारी दुबईमा एक वैवाहिक कार्यक्रममा सरिक भएको र देशको राजनीतिक संकटसंग उहांको भ्रमणको कुनै सम्बन्ध नरहेको उहांका निकटस्तहरुले बताएका छन् ।
राष्ट्रपति जर्दारीको फिर्ती अघि पाकिस्तानी सेना प्रमुख जनरल अशफाक कियानीले वरिष्ठ सैन्य अधिकृतहरुको आपतकालीन बैठक बोलाउनु भएको थियो । यसैबीच प्रधानमन्त्री युसुफ रजा गिलानीले मन्त्रीपरिषद्को रक्षा समितिको बैठक बोलाउनु भएको छ जहां सेनाध्यक्ष जनरल कियानी पनि सहभागि हुने बताइएको छ । उता अमेरिकाले पाकिस्तानको वर्तमान स्थितिलाई लिएर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक ढंगबाट चुनिने नागरिक सरकारको पक्षमा रहेको स्पष्ट पारेको छ ।