युएईमा अर्घाखाँचीबासीहरुको भेला सम्पन्न

– रविलाल खनाल

 

अखाटा युएई, डेस्क – हिजो १३ जनवरी २०१२ शुक्रबारका दिन अर्घाखाँची सम्पर्क समिति युएईको औपचारिक रुपमा गठन भएको छ । अर्घाखाँची जिल्लाबाट युएईको बिभिन्न राज्यहरुमा छरिएर रहनु भएका र फरक फरक पेशा र ब्यावसायमा संलग्न साथिहरुको भेला सम्पन्न गरी समिति गठन गरिएको छ ।

 

दिउँसो २ः०० बजेदेखि दुबईको क्रिक पार्कमा शुरु भएको उक्त भेलामा जिल्लाबासी साथिहरुको उल्लेखनिय संख्यामा उपस्थित रहेको थियो । निकै लामो समयपछि प्रवासी भूमि युएईमा हुन गइरहेको अर्घाखाँची जिल्लाबासीको यस्तो किसिमको भेलामा उपस्थितको लागि इमिरेट्सका आबुधावी, दुबई, सारजाह, अजमान, अमलक्युन लगाएतका प्राय सबै स्थानहरुबाट साथिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

उक्त भेलाले राजु खड्का (सन्धिखर्क २ छापडाँडा) को अध्यक्षतामा १७ सदस्सिय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सम्राट केसी (वाङ्गला) रहनु भएको छ भने महासचिवमा चिरन्जिवि केसि (धारापानी), सचिवमा जिवन के.सी (नरपानी) र कोषाध्यक्षमा प्रकाश रायमाझी (अर्घा) रहनु भएको छ भने सदस्यहरुमा क्रमशः बिष्णु आचार्य (जुकेना), भोज बहादुर खड्का (सन्धिखर्क), पुष्पा के सी (धारापानी), तुल्सीराम चुँदाली (अर्घा), अर्जुन खड्का (सन्धिखर्क), करुणा कुबर (किमडाँडा), राम प्रसाद अधिकारी (जुकेना), नारायण प्रसाद आचार्य (डिभर्ना), रामु घिमिरे (पाली), माधव बन्जाडे (किमडाँडा), सिता खत्रि (नरपानी) बुद्धिराम आचार्य (सन्धिखर्क) छन ।

 

उक्त नव गठित समितिले ४ सदस्सिय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा लामो समयदेखि युएईमा रहि बिभिन्न पेशा र संघ सस्थाहरुमा आवद्ध रहनुभएका अग्रज समाजसेवि कृष्ण भाट, कृष्ण भुसाल, चन्द्र सारु र रविलाल खनाल रहनु भएको छ ।

 

सन् २००४ मा नै केहि अर्घाखाँची जिल्लाबासी साथिहरुको पहलमा स्थापना भएको अर्घाखाँची सम्पर्क समिति युएई पछिल्लो समयमा आएर निस्कृय अवस्थामा रहेको थियो । समितिका जिम्मेवार पदाधिकारीहरु नेपाली फिर्ता भइसकेको अवस्था र विगत केहि बर्षहरुमा अर्घाखाची जिल्लाबाट रोजगारीको सिलसिलामा युएईमा आउने साथिहरुको सख्या पनि उच्च रहेको हुनाले सामुहिक रुपमा सबै साथिहरुलाई समेटने गरी साझा चौतारीको आवश्यकता रहेको थियो ।

 

जिल्लाबासी साथिहरुलाई प्रवासी जीवनमा आइपर्ने बिभिन्न किसिमका व्यक्तिगत र साझा समस्याहरुलाई सामुहिक रुपमा संबोधान गर्न, एक आपसमा निरन्तर सम्पर्कमा रहि दृढ भावनात्मक सम्बन्ध स्थापना गर्न, हाम्रो पहिचानका रुपमा रहेका सास्कृतिक, कला, साहित्य जस्ता क्षेत्रहरु सहित समग्रमा अर्घाखाँची जिल्लाको बिकासमा बिदेशि भूमिबाटै भएपनि टेवा पु�याउने जस्ता उद्देश्यहरु समितिले लिएको छ । समितिले केहि महिना अगाडि देखि अर्घाखाची सामुदायिक बचत कोष युएईले संचालन गरेको युएईमा रहेका अर्घाखाची जिल्लाबासीको लगत संकलनलाई तिव्रताका साथ सम्पन्न गर्नुका साथै अर्घाखाची सम्पर्क समिति युएईको बिधान मस्यौदा तयार गरी दुई महिनासम्ममा पुनः जिल्लाबासीको भेला डाक्ने छ । लगत संकलनको क्रममा अहिलेसम्म केवल ११ गाविसका ६०० भन्दा बढि साथिहरुको नामावली हामीलाई प्राप्त भइसकेको छ । नामावली आउने क्रम जारी रहेकोछ ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष श्री राजु खड्काले समितिका तर्फबाट सपथग्रहण तथा प्रतिबद्धता प्रकट गर्नुहुँदै जिल्लाबासी साथिहरुले दिनुभएको यो गहन जिम्मेवारीलाई आफुले आत्मसात गरेको र जिम्मेवारी निर्वाहमा हरसम्भव प्रयासरत रहने र आगामी दिनहरुमा सबै साथिहरुको सहयोग को अपेक्षा गर्नुभयो । साथै उहाँले नयाँ कार्य समितिले छिट्टै नै भावि कार्यक्रमहरु पनि सार्वजनिक गर्ने बताउनु भयो ।

 

कार्यक्रमको अन्त्यमा बोल्दै सल्लाहकार द्धव कृष्ण भाट तथा रविलाल खनालले नयाँ कार्यसमितिका साथिहरुलाई शुभकामना दिनुहुँदै जिल्लाबासी साथिहरुबीच भाइचाराको सम्बन्ध स्थापना गर्न र एक आपसमा हातेमालो गर्दै सामाजिक सेवामा निरन्तर लागिरहनु पर्ने बताउनुभयो ।

 

                                           अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु