सेनासँग सम्बन्ध चिसिएर अफ्ठ्यारोमा परेका बेला पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानी सर्वोच्च अदालतले आज दिएको आदेशले झनै प्रतिरक्षात्मक बन्नुभएको छ ।
भ्रष्टाचारका सम्बन्धमा दिएको आदेश कार्यान्वयन नगरेर अपहेलना गरेको भन्ने विषयमा सर्वोच्च अदालतले आगामी जनवरी १९ मा अदालतमा कानुनव्यवसायी बिनै उहाँलाई एक्लै उपस्थित हुन आदेश दिएको छ । पाकिस्तान सरकारविरुद्ध गत १० जनवरीमा दायर रीटको सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि अदालतले दिएका आदेशहरु सरकारले कार्यान्वयन नगरेकाबारे सर्वोच्चमा आजै सुनुवाई भएको थियो ।
विवादास्पद आममाफी कानुन अनुसार भ्रष्टाचारमा संलग्न राजनीतिज्ञले छुट पाउँदै आएकोमा अदालतले त्यस विरुद्ध कडा आदेश दिए पनि सरकारले कार्यान्वयन गरेको छैन । राष्ट्रपति आसिफ अली जर्दारीलगायतका उच्च राजनीतिक व्यक्तिहरु सम्मिलित राजनीतिक भ्रष्टाचारका मुद्दाहरु फेरि छानविन गर्न सर्वोच्च अदालतले दिएको समयसीमा आज सकिएको छ ।
सेनाले कु गर्न लागेकाले अमेरिकासँग सहयोग मागिएको मेमोगेट काण्डले गिलानीको सैनिक नेतृत्वसँग मनमुटाव बढेको छ । यद्यपि, गत शनिवार बरिष्ठ सैनिक अधिकारीहरुसँगको बैठकमा उहाँले सेनाको प्रशंसा गर्नुभएको थियो ।