सिरियाको अवस्थाबारे अनुगमन गर्न खटिएको अरब लीगका पर्यवेक्षकहरुको टोली आगामी एक महिनासम्म सिरियामै रहने

सिरियाको अवस्थाबारे अनुगमन गर्न खटिएको अरब लीगका पर्यवेक्षकहरुको टोली आगामी एक महिनासम्म सिरियामै रहने भएको छ । यसअघि तय गरिएको समयसीमा सकिए पनि सिरियामा जारी हिंसात्मक घटनामा कमी नआएपछि अनुगमन टोली थप एक महिना सिरियामै रहने भएको हो । १ सय ६५ सदस्यीय टोलीलाई अनुगमनका लागि दिइएको समयसिमा हिजो सकिएको थियो । सरकारले प्रदर्शनकारीहरुमाथि दमन जारी राखेका कारण टोली थप एक महिना सिरियामै रहने भएको हो ।


यसैबीच सिरियामा भएको पछिल्लो हिंसामा सुरक्षाकर्मीको गोली लागि सात जना प्रदर्शनकारीको मृत्यु भएको छ । सिरियामा रहेका पर्यवेक्षकहरुका अनुसार पछिल्लो महिनामा मात्रै चार सय जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति बसार अल असदको शासन बिरुद्ध गत बर्षको मार्चदेखि शुरु भएको प्रदर्शन अझै पनि जारी छ । प्रदर्शनका क्रममा हालसम्म पाँच हजार जनाको मृत्यु भइसकेको छ ।