विश्वमा तीनमा एक जना बेराजगार, बेरोजगारीको समस्या डरलाग्दो रुपमा देखिएको आइएलओको ठहर

अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वमा अझै पनि बेरोजगारी दर संकटपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । विश्वमा तीनमा एक जना बेराजगार रहेको उक्त संगठनले जनाएको छ । सरकारहरुले सबैभन्दा पहिलो प्राथमिकता रोजगार सृजना गर्नुपर्ने सुझाउँदै उसले यसो गर्न नसके आर्थिक विकास जारी राख्न नसकिने र सामाजिक विद्रोह पनि बढ्ने चेतावनी दिएको छ । विश्वमा तीन मध्ये एक जना या त गरीबीमा छन् या त रोजगारीको खोजीमा भौतारिरहेका छन्, आइएलओले भनेको छ ।


विश्वमा समान विकास र समाजिकसम्बन्ध हार्दिक बनाइ राख्ने हो भने आगामी दश वर्षमा रोजगारीका लागि ६० करोड पद सृजना गर्नुपर्ने सन् २०१२ को आइएलओको विश्व प्रतिवेदनमा उल्लेख छ । श्रम बजारमा हरेक वर्ष चार करोड बेराजगार व्यक्ति थपिँदै गएकोमा चिन्ता व्यक्त गर्दै आइएलओले बेरोजगारबाट १५ देखि २४ वर्ष उमेर समूहका युवा वर्ग सबैभन्दा बढी प्रभावित बनेको जनाएको छ । विश्वमा प्रतिदिन दुई डलरभन्दा पनि कम कमाउने गरीब कामदार करिब ९० करोड रहेको मानिन्छ ।