वादेलाई तेस्रो पटक पनि राष्ट्रपति पदको उम्मेदवार हुन स्वीकृति दिएपछि अफ्रिकी मुलुक सेनेगलमा देश भर हिंसा

अफ्रिकी मुलुक सेनेगलमा राष्ट्रपति अब्दुलाए वादेलाई तेस्रो पटक पनि राष्ट्रपति पदको चुनावमा उम्मेदवार हुन संवैधानिक अदालतले स्वीकृति दिएपछि देश भर हिंसा भड्किएको छ ।

 

घटनामा एक जना प्रहरी मारिएका छन् । राजधानी डकारमा घरहरुमा व्यापक आगजनी र तोडफोड भएको छ । काउल्याक शहरमा वादेको पार्टीको मुख्यालय प्रदर्शनकारीहरुले जलाएका छन् । सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाए पनि विभिन्न शहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच व्यापक झडप भएका छन् ।

 

विपक्षीहरुले तेस्रो कार्यकालका लागि पनि वादेलाई चुनावमा भाग लिन अनुमति दिएमा सडक प्रदर्शन गर्ने चेतावनी दिएका थिए । यता सन् २००० देखी सत्तामा रहेका ८५ वर्षिय राष्ट्रपति वादेले संयम अपनाउन अपील गरेका छन् । उनले फेब्रअरी २६ मा हुने चुनाव निष्पक्ष हुने दाबी पनि गरे ।

 

प्रमुख विपक्षी नेता एवं चर्चित संगितकार युस्सु नदाउरले अदालतले आफ्नो नामांकन रद्ध गरिएको निर्णयले हिंसा भड्काउने चेतावनी दिएका छन् ।