बेलायतले सन् २०१४ मा नेटो सैन्य अभियानको समाप्ति पछि पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने

बेलायतद्धारा अफगानिस्तानलाई सहयोग जारी राख्ने


बेलायतले सन् २०१४ मा नेटो सैन्य अभियानको समाप्ति पछि पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने भएको छ ।

 

बेलायत भ्रमणमा रहेका अफगान राष्ट्रपति हमिद कारजाई र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीचको सम्झौता पछि यो निर्णय सार्वजनिक भएको हो । दुवै नेताहरुले कसरी एकसाथ अगाडि बढ्ने भन्ने विषयमा पनि महत्वपूर्ण सहमति गरेको बताइएको छ । बेलायती प्रधानमन्त्री क्यामरुनले आपसी सम्बन्ध कुटनीति ,व्यापार र सहयोगको विषयमा केन्द्रीत रहने जानकारी दिनु भयो । कारजाईले आफ्नो मुलुकको भविष्य निर्माणका लागि बेलायतले पु-याएको योगदान प्रति कृतज्ञता प्रकट गर्नु भयो ।

 

अफगानिस्तानमा एक जना अफगान सुरक्षाकर्मीले चार जना फ्रान्सका सेनालाई मारे पछि फ्रान्सले पूर्व निर्धारित समय भन्दा एक वर्ष अघि नै अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने निर्णय गरेको छ । यो घटना पछि अफगानिस्तानमा रहेका विदेशी सेना फिर्तीको विषयलाई लिएर विभिन्न आशंकाहरु पैदा भएका थिए । अफगानिस्तानमा हाल नेटो मिशन अन्तर्गत ३ हजार ६ सय फ्रेन्च सेना तैनाथ छन् ।