यूरोपमा एक हप्तादेखि बढेको चिसो र हिमपातका कारण यातायात व्यवस्था नराम्ररी प्रभावित भएको छ भने विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
भारी हिमपातका कारण माइनस ३५ डिग्री सेल्सियससम्म झरेको तापक्रमका कारण विभिन्न युरोपेली मुलुकमा यातायात व्यवस्था अस्तव्यस्त भएको हो ।
सडकहरु सेताम्मे हिंउले ढाकिएपछि बेल्जियम, नेदरल्याण्डस्का सडकमा सयौ किलोमिटरको जाम लागेको छ । धेरै शहरमा हवाई, रेल सेवा बन्द गर्नु परेको अधिकारीहरुले जनाएका छन् । लण्डनको अति व्यस्त हिथ्रो विमानस्थलमा ३० प्रतिशतभन्दा बढी हवाई उडान रद्ध गरिएका छन् ।
सर्वियाका विभिन्न क्षेत्र, बोस्नियाको साराजिवोमा अत्यधिक हिमपातका कारण आपतकालीन स्थितिको घोषणा गरिएको छ । इटलीको राजधानी रोममा पछिल्लो २५ वर्ष यता कै सबैभन्दा ठूलो हिमपात भएको छ । चिसोका कारण हालसम्म २ सयभन्दा बढीको मृत्यु भैसकेको छ ।