रोमानियामा सरकारी खर्च कटौतीको प्रस्तावको विरोध थेग्न नसकेपछि प्रधानमन्त्री इमिल बोकद्धारा राजिनामा

रोमानियाका प्रधानमन्त्री इमिल बोकलेको राजिनामा


रोमानियामा सरकारी खर्च कटौतीको प्रस्तावको विरोध थेग्न नसकेपछि प्रधानमन्त्री इमिल बोकले राजिनामा दिनुभएको छ । मन्त्रीपरिषद्को बैठकपछि राजीनामा घोषणा गर्दै उहाँले महत्वपूर्ण राजनीतिक निर्णयको समय आएको बताउनु भयो ।

 

४५ वर्षिय प्रधानमन्त्री बोकले आफ्नो सरकारले सस्तो लोकप्रियता नहेरी संकटको घडीमा मुलुकलाई बचाउने प्रयास गरेको तर्क गर्नुभयो । अर्थतन्त्र संकटमा पर्दै गएपछि रोमानिया सरकारले खर्च कटौतीको प्रस्ताव अघि बढाएको थियो तर त्यसको विरोधमा तीन हप्तादेखि चर्को विरोध हुंदै आएको छ ।

खर्च कटौती प्रस्तावमा सार्वजनिक क्षेत्रको ज्यालामा २५ प्रतिशत कटौती, पेन्सन रोक्का र बिक्री करमा २४ प्रतिशत बृद्धि गर्ने योजना अघि सारिएको छ । आगामी नोभेम्बरमा संसदीय निर्वाचन हुने भएकाले प्रधानमन्त्रीको राजिनामापछि अब त्यतिञ्जेल सम्म राष्ट्रपति ट्रियन बासेस्कुले विज्ञ समुहको अन्तरिम सरकार बनाउन सक्ने अनुमान गरिएको छ ।