माल्दिभ्समा पूर्व राष्ट्रपति मैमुन गैयुमका समर्थकसंगै मिसिएका केही प्रहरीले सरकारी टेलिभिजनमा कब्जा जमाएपछि राष्ट्रपति मोहम्मद नाशिदले पदबाट राजिनामा गर्नुभएको छ ।
पत्रकार सम्मेलनमार्पmत पदत्यागको घोषणा गर्दै उहाँले अहिलेको अवस्थमा आफूले पदत्याग गर्नु नै देशको हीतमा हुने धारणा राख्नुभयो । उहाँले उपराष्ट्रपति मोहम्मद वाहिदलाई सत्ता हस्तान्तरण गर्ने अनुमान गरिएको छ । यसअघि पूर्व राष्ट्रपति मैमुन अब्दुल गयुमका समर्थकहरुसंगै मिसिएका प्रहरीले राजधानी मालेमा रहेको सरकारी टेलिभिजन नियन्त्रणमा लिएका थिए । यसक्रममा त्यहाँ रहेका सात जना पत्रकारलाई पनि उनीहरुले नियन्त्रणमा लिएका थिए । टेलिभिजन नियन्त्रणसंगै विद्रोहीहरुले पूर्व राष्ट्रपति गयुमको पक्षमा सन्देश प्रसारण गरेका थिए ।
हिजो मात्रै ५० भन्दा बढी प्रहरी अधिकृतहरु विद्रोह गरी प्रदर्शनकारीसँग मिसिएका थिए । हिजो मात्रै सरकार विरोधी प्रदर्शनमा उत्रिएका पूर्व राष्ट्रपति गयुमका समर्थकको प्रदर्शन नियन्त्रणमा लिन सेनाले अश्रु ग्याँस प्रहार गरेको थियो । त्यस क्रममा सेनाले प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेको बताइए पनि राष्ट्रपति कार्यालयले त्यसको खण्डन गरेको छ । बीबीसीले जनाए अनुसार सैनिक मुख्यालय नजिकै प्रदर्शन भएको थियो ।
राष्ट्रपतिको राजीनामा अघि स्थितिलाई नियन्त्रणमा लिन सवै खाले उपाय अवलम्बन गरिने राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको थियो । माल्दिभ्समा गत महिना पक्राउ परेका विपक्षी दलका नेतालाई रिहा गर्ने एक वरिष्ठ न्यायाधीशलाई सेनाले पक्राउ गरेपछि तनाबको स्थिति उत्पन्न भएको थियो ।