संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अरब लीगले सिरियामा आफ्नो मिशन फेरि शुरु गर्ने भन्दै लीगले राष्ट्रसंघको सहयोग मागेको बताउनु भएको छ । सिरियामा हिंसा बढ्दै गएपछि अरब लीगले गत महिना आफने मिशनबीचैमा रोकेको थियो ।
राष्ट्रसंघमा बोल्दै महासचिव वानले सुरक्षा परिषद्मा सिरिया विरुद्धको निन्दा प्रस्ताव पारित नभएकोले दमस्कसलाई आफ्नै नागरिक विरुद्ध युद्ध अगाडि बढाउन प्रोत्साहित गरेको बताउनु भयो ।
बानले सिरियाका विभिन्न शहरमा भएको सरकारी दमन र बर्वरताले संकट अझै गहिरिने आशंका बढेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । गत हप्ता सुरक्षा परिषद्मा रुस र चीनले सिरिया विरुद्धको प्रस्ताव रोके पछि अन्तर्राष्ट्रिय समुदायहरु सिरियाको संकट समाधान खोज्न संघर्षरत छन् ।
यता सिरियामा सरकार विरोधी प्रदर्शनकारी विरुद्धको कारवाही जारी राखेका छन् ।