सिरियामा सरकार विरोधी प्रदर्शनकारीको केन्द्र बन्दै आएको होम्स् शहरमा व्यापक बमबारी

सिरियामा सरकार विरोधी प्रदर्शनकारीको केन्द्र बन्दै आएको होम्स् शहरमा व्यापक बमबारी भए लगत्तै एलेप्पो शहर पनि बमबारीको चपेटामा परेको छ । यसक्रममा सुरक्षाकर्मीसहित २८ भन्दा बढी मानिस मारिएको सरकारी दाबी छ । सरकारी सञ्चारमाध्यमका अनुसार सेनाको गुप्तचर निकायको परिसरमा दुई वटा वम विष्फोट गराइदा २ सय ३५ भन्दा बढी घाईते भएका छन् । हिजो मात्र दमस्कसमा गराइएको बम आक्रमणमा २६ जना मारिएका थिए । सरकारले घटनामा हतियारधारी आतंकवादी समूहको हात रहेको आरोप लगाएको छ । तर सरकारी सेनाको विरोधमा उत्रिएका विद्रोही फ्रि सिरियन आर्मीले भने आफ्नो संलग्नता अस्वीकार गर्दै सरकारले नै आक्रमण गराएको दाबी गरेको छ ।


सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको शासनविरुद्ध विभिन्न शहरमा भएका हिंसात्मक प्रदर्शनका क्रममा एलेप्पो शहर अपेक्षाकृत शान्त रहेको थियो । सिरियामा असादको शासनविरुद्धको प्रदर्शनका क्रममा ७ हजार भन्दा बढी मारिइसकेको विभिन्न मानवअधिकारवादी समुहहरुले दाबी गरेका छन् ।