सिरियामा सुरक्षाकर्मीद्धारा ट्याङक र बमबारी

सिरियामा हमिश सैन्य अस्पतालका प्रमुख जनरल ईसा अल खोलीको गोली हत्या गरिएको छ । राजधानी दमस्कसको उत्तरी क्षेत्रमा बिहान आफ्नो निवासबाट बाहिर निस्केको बेला हतियार सहित आएका तिन जनाले उनको गोली हानी हत्या गरेको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

उनलाई घांटीमा गोली लागेको बताइएको छ । होम्स् शहरमा सुरक्षाकर्मीले ट्याङक र बमबारी गरि १५ जना र एलेप्पो शहरमा २८ जना प्रदर्शनकारी मारेको दोस्रो दिन दमस्कसमा सेनाका जनरलको हत्या भएको हो । हत्यामा हतियारधारी चरमपन्थी गुटको हात रहेको सरकारी दाबी छ ।

 

तर घटनाको जिम्मेवारी हाल सम्म कसैले लिएको छैनन् । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भैरहेको प्रदर्शनका क्रममा सेनाका उच्च अधिकारी मारिएको यो पहिलो घटना हो । यता गत शनिवारबाट सेनाले होम्स् शहरमा शुरु गरेको भिषण कारवाहीमा ४ सय भन्दा बढी मारिएका छन् ।

 

यसैबीच यसबीच संयुक्त राष्ट्रसंघको साधारण सभामा सिरियामाथि दबाब बढाउने विषयमा छलफल केन्द्रीत हुंदै छ भने ट्युनिशिया र लिवियाले सिरिया स्थित आफ्नो उच्चायोग बन्द गरेको जनाएका छन् । सिरियामा गत मार्च यता राष्ट्रपति असादको शासन विरुद्ध भैरहेको प्रदर्शनमा ७ हजार भन्दा बढी मानिस मारिइसकेको मानवअधिकारवादी संगठनहरुले दाबी गरेका छन् ।