ग्रीसमा रोजगारीमा कटौती गर्ने सरकारी निर्णयविरुद्ध ब्यापक जनप्रदर्शन
फाल्गुन १ गते, २०६८ मा प्रकाशित
ग्रीसमा रोजगारीमा कटौती गर्ने सरकारी निर्णयविरुद्ध ब्यापक जनप्रदर्शन भएको छ । चरम आर्थिक संकटको सामना गरिरहेको ग्रीसले सरकारी रोजगारीमा ठूलो संख्याले कटौती गर्ने निर्णय गरेको थियो ।
राजधानी एथेन्सको संसद भवन अगाडि सयौं प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालयमा आगजनी गर्नुका साथै थुप्रै सरकारी गाडी तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा दुबैतर्फ थुप्रैं घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । यसअघि ग्रीसको संसदले खर्च कटौतीसम्बन्धि महत्वपूर्ण र बिबादास्पद विधेयक पारित गरेको थियो ।
जसअनुसार ४० प्रतिशत रोजगारी कटौती हुनेछ । ग्रीसको आर्थिक संकट समाधानका लागि युरोजोन र अन्तर्राष्ट्रिय मुद्रा कोषले खर्च कटौतीसम्बन्धि विधेयक पारित गरेमा १ सय ३० अर्व अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।