चीनमा विदेशी टेलिभिजन च्यानलहरुका सामग्रीहरु प्राइम टाइममा प्रसारण गर्न नपाइने

चीनमा विदेशी च्यानलहरुका सामग्री प्राइम टाइममा प्रसारण गर्न नपाइने


चीनमा विदेशी टेलिभिजन च्यानलहरुका सामग्रीहरु प्राइम टाइममा प्रसारण गर्न नपाइने भएको छ । चिनिया स्टेट एडमिनिस्ट्रेशन अफ रेडियो , फिल्म र टेलिभिजनले विदेशी च्यानलका कार्यक्रमहरु स्थानिय समय अनुसार साँझ सात देखि दश बजे सम्म देखाउन नपाइने जनाएको छ ।

 

चिनियाँ टेलिभिजनको नियमक संस्थाले कुनै पनि धारावाहिक कार्यक्रम ५० भाग भन्दा बढीको प्रसारण गर्न पनि पाइने छैन । यस्तै विदेशी कार्यक्रमहरु प्रसारण हुनु अघि कार्यक्रम पास गर्नु पर्ने र हिंसात्मक र अश्लिल सामग्री समावेश गर्न नपाइने नियम बनाइएको छ ।

गत महिना मात्र चिनियाँ राष्ट्रपति हु जिन्ताओले कम्युनिष्ट पार्टीका सदस्यहरुलाई पश्चिमा संस्कृतिको प्रभाव प्रति सजग रहन आग्रह गरेलगत्तै विदेशी टेलिभिजन सामग्री प्रसारणका सम्बन्धमा यो नियम सार्वजनिक भएको हो । गत नोभेम्बरमा मात्रै टेलिभिजन सिरियलहरु प्रसारणको बीचमा सांस्कृतिक गतिविधिमा सुधार गर्ने भन्दै विज्ञापनमा रोक लगाएको थियो ।

 

यस्तै स्थानिय टेलिभिजन च्यानलहरुलाई पनि एउटा कुनै निश्चित क्षेत्रको कार्यक्रम पटक पटक देखाउन नपाइने भएको छ । चिनियाँ समाचारपत्र चाइना डेलीका अनुसार विदेशबाट आउने टेलिभिजनका कार्यक्रमको स्तर सुधार गर्न नयाँ नियम सार्वजनिक गरिएको हो । चाइना डेलीका अनुसार नियम उल्लंघन गर्ने टेलिभिजन च्यानल विरुद्ध कडा कारवाही गरिने छ । चीनमा धेरै जसो विदेशी टेलिभिजन कार्यक्रमहरु हंगकंग , ताइवान , दक्षिण कोरिया र थाइल्याण्डबाट ल्याइने गरिन्छ ।