इजरायलद्धारा भारत र जर्जियास्थित आफ्ना दूतावासबाहिर भएको विष्फोटमा इरानको हात रहेको आरोप

इजरायलले भारत र जर्जियास्थित आफ्ना दूतावासबाहिर भएको विष्फोटमा इरानको हात रहेको आरोप लगाएको छ । तर इरानले भने आरोपको तत्काल खण्डन गर्दै इजरायलले नै विस्फोट गराएको टिप्पणी गरेको छ ।

 

भारत र जर्जियासँग भएको इरानको राम्रो सम्बन्ध बिगार्नका लागि इजरायल स्वयंले यस्तो षडयन्त्र गरेको इरानको आरोप छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू स्वयंले घटनामा इरानको हात रहेको दोष लगाउँदै विश्वमा आतंकवादको सबैभन्दा ठूलो निर्यातकर्ता इराननै रहेको आक्षेप लगाउनु भएको छ ।

 

हिजो दिउँसो भारतको दिल्लीमा इजरायली दूतावासबाहिर रहेको कूटनीतिज्ञको कारमा विष्फोट हुँदा दुई जना घाइते भएका थिए । सोही समयमा जर्जियाको तिब्लिसी शहरमा पनि विष्फोटको प्रयास गरिएको र उक्त काममा पनि इरानकै हात रहेको आरोप इजरायलको छ ।

 

इरानले भने युद्धको वातावरण बनाउन इजरायलले यस्तो हर्कत गरेको आरोप लगाएको छ । आफै आतंकवादको मारमा परिरहेको भन्दै इरानले यस्ता सबैखाले हर्कतको विरोध गरिने जनाएको छ ।