सिरियाको होम्स् शहरमा रहेको एउटा प्रमुख तेल पाइप लाइनमा भिषण विष्फोट

सिरियाको होम्स् शहरको प्रमुख तेल पाइप लाइनमा विष्फोट


सिरियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सरकारी दमन तिब्र भैरहेका बेला होम्स् शहरमा रहेको एउटा प्रमुख तेल पाइप लाइनमा भिषण विष्फोट भएको छ । गत साता सरकारी सेनाले प्रदर्शनकारी विरुद्ध व्यापक बमवारी गरेको बाबा अमर जिल्लाको खेत नजिक उक्त पाइप लाइन बिच्छाइएको थियो । यो पाइप लाइनबाट राजधानी दमस्कस र मुलुकको दक्षिणी क्षेत्रमा तेल लैजाने गरिन्थ्यो । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध गत मार्चमा प्रदर्शन शुरु भए यता यो पाइप लाइन विष्फोटका प्रयासहरु हुंदै आएका थिए ।


सरकारले पाइप लाइन विष्फोटमा सशस्त्र आतंककारीको हात रहेको आरोप लगाएको छ भने एक जना मानवअधिकारकर्ताले भने सरकारी लडाकु विमानले पाइप लाइनमा विष्फोट गराएको जनाएका छन् । सरकारी सेनाले त्यस क्षेत्रको विभिन्न जिल्लामा रकेट र मोर्टार प्रहार गरेको र सञ्चार सम्पर्क समेत विच्छेद गराएको प्रदर्शनकारीहरुले जनाएका छन् । होम्स् शहरमा गत हप्ता यता सुरक्षाकर्मीले प्रदर्शनकारी विरुद्ध शुरु गरेको कारवाहीका क्रममा ४ सय भन्दा बढी मानिस मारिइसकेका छन् ।