लिवियामा हतियारधारी मिलिसियाहरुका कारण त्यहाँको सुरक्षा र स्थायित्वमा चुनौति बढेको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । एम्नेष्टीका अनुसार गत सेप्टेम्बर यता अनियन्त्रित मिलिसियाले आफ्नो नियन्त्रणमा राखेका मध्ये कम्तिमा १२ जनाको हत्या भएको छ ।
राजधानी ट्रिपोली र अरु शहरमा पछिल्लो समय भएका हिंसात्मक घटनामा मिलिसियाहरुको हात रहेको आरोप लाग्दै आएको छ । यस्तै पूर्व लडाकुहरुले पनि मानव अधिकारको उल्लंघन गरेको एम्नेष्टीको प्रतिबेदनमा उल्लेख छ ।
लिवियाका दिवंगत पूर्व शासक कर्णेल गद्धाफी विरुद्ध विद्रोहको एक वर्ष पुगेको अवसरको पूर्वसन्ध्यामा यो प्रतिबेदन सार्वजनिक गरिएको हो ।
गत महिना मात्र संयुक्त राष्ट्रसंघले लिवियामा मिलिसियाहरुले करिब ८ हजार गद्धाफी समर्थकलाई नियन्त्रणमा लिएको जनाएको थियो । लिवियाको अन्तरिम सरकारले भने मुलुकमा सुरक्षा व्यवस्था मजबुत बनाउने प्रयास गरिरहेको जनाएको छ ।