इरानद्धारा कुम शहरमा भूमिगत रुपमा परमाणु कार्यक्रम विस्तार

इरानले भूमिगत रुपमा परमाणु कार्यक्रम विस्तार गर्दै


इरानले कुम शहरमा भूमिगत रुपमा परमाणु कार्यक्रम विस्तार गरिरहेको  जनाइएको छ । भियनास्थित कूटनीतिज्ञका अनुसार इरान भूमिगत प्लान्टमा हजारौं सेन्ट्रिफ्युज लैजान तयार रहेको छ ।

 

 सेन्ट्रिफ्युजको सहयोगबाट सम्बर्धन गरिएको युरेनियम उत्पादनमा तिब्रता आउने बताइएको छ । उर्जा उत्पादन र परमाणु हतियार दुवैमा युरेनियमको प्रयोग आवश्यक हुन्छ । कुम प्लान्टमा तार र पाइप विछ्छाइसकिएको र सेन्ट्रिफ्युजका लागि उपकरण लगिसकेको कूटनीतिज्ञहरुको दाबी छ ।

 

केही दिन अघि मात्र इरानले परमाणु प्रविधिको विषयमा थप जानकारी हासिल गरेको जनाएको थियो । संयुक्त राष्ट्रसंघको आणविक एजेन्सी आईएईएले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

 

आईएईएका जाँचकर्ता यसै साता आणविक कार्यक्रमका विषयमा छलफल गर्न इरान जाँदैछन् । ईरानले परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दावी गरे पनि अमेरिकासहितका पश्चिमा मुलुकले परमाणु हतियार बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् ।