सिरियामा सरकार विरोधी प्रदर्शनकारीको शवयात्रा विरोध प्रदर्शनमा परिणत भएपछि सेनाद्धारा गोली प्रहार


 

सिरियामा सुरक्षाकर्मीले मारेका सरकार विरोधी प्रदर्शनकारीको शवयात्रा विरोध प्रदर्शनमा परिणत भएपछि सेनाले उनीहरु माथि गोली प्रहार गरेको छ । राजधानी दमस्कसमा सेनाको गोली लागि कम्तिमा एक जना मारिएको र अरु धेरै घाईते भएको अधिकारकर्मीहरुले जनाएका छन् ।

 

 उक्त प्रदर्शन राजधानी दमस्कसमा अहिले सम्म कै ठूलो सरकार विरोधी प्रदर्शन भएको प्रदर्शनकारीको दाबी छ । सिरियाको संकट समाधानमा रचनात्मक मध्यस्तताको भूमिका खेल्न चिनियां विशेष प्रतिनिधि दमस्कस पुगेका बेला यो घटना भएको हो ।

सरकारी टेलिभिजनले चिनिया उपविदेशमन्त्री झाई जुनलाई उद्धृत गर्दै उहांले नयां संविधानका विषयमा हुने जनमत संग्रह र त्यसपछि चुनाव गर्ने सरकारी योजनाको समर्थन गरेको जनाइएको छ । तर विपक्षीहरुले भने २६ फेब्रुअरीमा गरिने जनमत संग्रह बहिष्कार गर्ने बताइसकेका छन् । झाई ले सिरियाली राष्ट्रपति बशार अल असाद लगायतका अधिकारीहरु र विपक्षी नेताहरुसंग भेटवार्ता गर्नु भएको छ ।

 

भेटमा झाईले सबै पक्षलाई तत्काल हिंसा रोक्न आग्रह गर्नु भएको बताइएको छ । झाई संगको भेटमा राष्ट्रपति असादले सिरियाले जुन चुनौतिको सामना गरेको छ त्यसले मुलुक विभाजित गर्ने र यस क्षेत्रको भू राजनैतिक अवस्था र ऐतिहासिक भुमिकालाई प्रभावित गर्ने कोशिस भएको बताउनु भयो ।

 

बेइजिंगले सिरियाको समस्या शान्तिपूर्ण र सही ढंगबाट समाधान हुने आशा व्यक्त गदै मध्यस्थताको रचनात्मक भूमिका खेल्ने जनाएको छ ।