अफगानी राष्ट्रपति हमिद कारजाईले कुरान जलाउनेहरुलाई सार्वजनिक रुपमै कार्वाही गर्न नेटोसँग माग गर्नुभएको छ ।
घटनामा संलग्नविरुद्ध मुद्दा चलाएर कार्वाही गर्न र छिटोभन्दा छिटो अदालतसमक्ष पेश गर्न नेटोले प्रतिवद्धता जनाएकाले त्यस्तो कार्वाहीको अपेक्षामा अफगानिस्तान रहेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि अमेरिकी सैनिक शिविरमा कुरान जलाएको घटनाप्रति अफगान जनतासँग माफी मागेका थिए । अफगान राष्ट्रपति हमिद कारजाईलाई लेखेको पत्रमा ओबामाले उक्त घटनालाई गम्भीर गल्ती भएको स्वीकार गरेका छन् ।
यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने सुनिश्चित गर्न चाहन्छु भन्दै ओबामाले घटनामा संलग्नलाई जवाफदेही बनाइने बचन पनि दिएका छन् । अफगान सांसदमा राष्ट्रपति कारजाईले कुरान जलाउने घटनामा अमेरिकी अधिकारीहरु जिम्मेवार रहेको बताएका थिए । त्यसअघि कुरान जलाएको घटनाको विरोध प्रदर्शन हिसात्मक हुँदा दुई विदेशी सैनिकसहित १० जना मारिएका थिए ।