रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुले इरानको परमाणु कार्यक्रमलाई त्यहाँको सत्ता परिवर्तन गर्ने हतियारका रुपमा प्रयोग गरिरहेको आरोप लगाउनु भएको छ ।
पश्चिमा मुलुकले इरानी आणविक कार्यक्रमविरुद्ध गरिरहेको कार्यको रुसले विरोध गर्ने पुटिनको भनाइ थियो । संयुक्त राष्ट्रसंघको परमाणु उर्जा एजेन्सी आईएईएले ईरानको परमाणु कार्यक्रमको सैनिक पक्षलाई लिएर चिन्ता व्यक्त गरिरहँदा पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो । आईएईएले भने ईरानी अधिकारीहरुसँगको छलफलपछि पनि परमाणु कार्यक्रमबारे खासै प्रगति नभएको जनाएको छ ।
ईरानले आईएईएका निरिक्षण टोलीलाई पारचिनको सैन्य क्षेत्रमा भ्रमण अनुमति दिएको छैन भने युरेनियम सम्बर्धनको क्षमता पनि बढाएको जनाएको छ ।
अमेरिकाले परमाणु कार्यक्रमबारे ईरानले अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न नसकेको जनाएको छ । अमेरिका लगायतका पश्चिमा मुलुक ईरानले परमाणु हतियार विकास गर्न लागेको आरोपमा छन् भने ईरान शान्तिपूर्ण उद्धेश्यका लागि परमाणु कार्यक्रम भएको जिकीरमा छ ।