अल असदको शासनविरुद्ध जारी हिंसा अन्त्यका विषयमा ट्युनिसियामा बसेको सम्मेलनले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध थप कडा गर्ने

सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध थप कडा गर्ने ट्युनिसिया सम्मेलनको निर्णय


सिरियामा राष्ट्रपति बशार अल असदको शासनविरुद्ध जारी हिंसा अन्त्यका विषयमा छिमेकी ट्युनिसियामा बसेको ७० मुलुकका प्रतिनिधिको सम्मेलनले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध थप कडा गर्ने र विद्रोहीको सिरिया राष्ट्रिय काउन्सिललाई प्रतिपक्षको विश्वसनीय प्रतिनिधि मान्ने निर्णय गरेको छ ।

 

तर सम्मेलनले विद्रोहीको राष्ट्रिय काउन्सिललाई सरकारको मान्यता भने दिएको छैन । सिरियाको मित्रको नाम दिइएको सम्मेलनले राष्ट्रपति असादको सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन रोक्न र प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री पु-याउने अनुमतिको माग गरेको छ ।

सम्मेलन पछि जारी घोषणा पत्रमा विदेशमा रहेको सिरियाको सम्पत्ति प्रयोग र तेल व्यापारमा रोक लगाउने निर्णय गरिएको उल्लेख छ । यस्तै सम्मेलनले सिरियासंग कुटनीतिक सम्बन्ध कम गर्ने र हतियार निर्यात बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकमा चीन र रुसले भने भाग लिएका थिएनन् । बैठकपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले संयुक्त राष्ट्रसंघमा सिरियाको निन्दा गर्ने प्रस्तावको चीन र रुसले विरोध गर्नु घृणित भएको बताउनु भयो । यसअघि राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानलाई संयुक्त राष्ट्रसंघ र अरब लीगले सिरियाका लागि विशेष दूत नियुक्त गरेका थिए ।


यसैबीच ट्युनिसिया सम्मेलन लगत्तै हिंसाको चपेटामा परेको सिरियाको होम्स् शहरमा फसेका महिला , बालबालिका र र घाईतेहरुलाई रेडक्रसले उद्धार गर्न शुरु गरेको छ । उद्धार गरिएकाहरुमा घाइते सञ्चारकर्मी पनि रहेको बताइएको छ । सिरियामा राष्ट्रपति असादको शासनविरुद्ध झण्डै एक वर्षदेखि भइरहेको विद्रोहमा हजारौं मानिस मारिइसकेका छन् ।