अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमै आफ्ना दुई उच्च अमेरिकी सैन्य अधिकारी मारिएपछि नेटोले आफ्ना सबै कर्मचारी फिर्ता बोलाएको छ ।
यी कर्मचारीहरु अफगानिस्तान सरकारको सल्लाहकारको रुपमा कार्यरत थिए । आक्रमणकारीले राजधानी काबुलको अत्यन्तै सुरक्षित मानिएको उक्त मन्त्रालय भित्रै पसेर गोली हानेको थियो । नेटोले गोली चलाउने व्यक्तिको पहिचान भएको जनाए पनि स्थानीय सञ्चारमाध्यमहरुले आक्रमणकारी अफगान प्रहरी भएको बताएका छन् । तालिवानले आक्रमण आफुहरुले गराएको दाबी गरेको छ । आक्रमण लगत्तै मन्त्रालय बन्द गरिएको छ ।
अफगानिस्तानमा पछिल्लो पाँच दिनदेखि अमेरिकी सेनाले मुसलमानको पवित्र ग्रन्थ कुरान जलाएकोमा चर्को विरोध भैरहेका बेला यो आक्रमण भएको हो । कुरान जलाएकै विरोधमा हिजो कुन्दुज शहरमा संयुक्त राष्ट्रसंघको स्थानीय कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।
घटनामा हिजो मात्रै चार जना मारिएका छन् । प्रदर्शनकारीले कुरान जलाउने अमेरिकी सैनिकमाथि कारवाहीको माग गरेका छन् । मंगलवार यताको विरोध प्रदर्शनमा ३० जना मारिइसकेका छन् ।