बेलायतको तेल कम्पनी बीपीले सन् २०१० मा मेक्सिकोको खाडीमा तेल चुहिएर पीडित बनेकाहरुलाई क्षतिपूर्ती दिने भएको छ ।
बीपीले करिब ७ दशमलब ८ अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिन सहमति जनाएको हो । बीपीको क्षतिपूर्तिले तेल चुहिएका कारण प्रभावित १ लाख माछा मार्ने मानिस, स्थानीयबासी, सरसफाइमा खटिएका जनता लाभान्वित हुने बताइएको छ । अमेरिकामा यस विषयमा मुद्दा चलिरहेको छ र यो सम्झौताका कारण सोमबार हुने सुनुवाई तत्कालका लागि टरेको जनाइएको छ ।
तेल कम्पनी बीपी दोषी ठहरिएमा कम्पनीमाथि अर्बौ डलरको सजाय हुन सक्छ । बीपीले अहिले सम्म चुहिएको तेलको सफाई र क्षतिपूर्ति बापत ७ दशमलब ५ अर्ब डर भुक्तानी दिइसकेको छ ।
सन् २०१० को अप्रिल महिनामा मेक्सिकोको खाडीमा तेल उत्खननका क्रममा ११ जनाको मृत्यु भएको थियो भने ४० लाख व्यारेल तेल समुद्रमा चुहिएर फैलिएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो घटनालाई इतिहासको सबैभन्दा खराब पर्यावरण त्रासदीको संज्ञा दिनु भएको थियो । तेल चुहिनबाट रोक्न ८५ दिन लागेको थियो ।