रुसमा राष्ट्रपतिय चुनावका लागि आज मतदान भइरहेको छ । आजको चुनावबाट वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिन पुन राष्ट्रपति हुने बलियो सम्भावना छ ।
चुनावका लागि ९० हजार मतदान केन्द्र संचालनमा ल्याइएको अधिकारीहले जनाएका छन् । यसअघि पनि दुई कार्यकाल राष्ट्रपति भइसकेका पुटिन एकै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नसक्ने संवैधानिक प्रावधानका कारण राष्ट्रपतिबाट प्रधानमन्त्री बन्नु भएको थियो ।
आजको चुनावमा उहांसँगै चार जना उम्मेदवार चुनावी मैदान छन् । जसमध्ये तीन जना अघिल्ला राष्ट्रपतिय चुनावमा पुटिनसंग पराजित भइसकेका उम्मेद्वार हुन् ।
चौथो पटक राष्ट्रपतिको उम्मेदवार बनेका कम्युनिष्ट नेता जेनाडी जुगानोभ नै पुटिनको मुख्य प्रतिस्पर्धी मानिएका छन् । गत डिसेम्बरको संसदीय चुनावमा पुटिनले धाँधली गरेको भन्दै विपक्षीले आन्दोलन चर्काइरहेका बेला राष्ट्रपतिय चुनावका लागि मतदान भएको हो । चुनावमा पुटिनले ५० प्रतिशत मत नपाए निकटतम प्रतिद्धन्दीसँग अर्को चरणको चुनावमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । चुनावमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।