संखुवासभामा आफ्नै दाजुले धारिलो हतियार प्रहार गरी कान्छो भाइको हत्या

खाँदबारी – संखुवासभाको नुनढाकी ६ मा आइतबार आफ्नै दाजुले धारिलो हतियार प्रहार गरी कान्छो भाइको हत्या गरेका छन् ।

स्थानीय ५० वर्षीय मिङ्गमातेम्बा शेर्पाले कान्छो भाइ फुर्वा शेर्पाको घरमै बिहान ११ बजे हत्या गरेका हुन् । हतियार खोस्ने प्रयास गर्दा उनको माइला दाजु दलबहादुर शेर्पा र छिमेकी पदमबहादुर तामाङ घाइते भएका छन् । घाइतेहरुको नुनढाकी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

हत्या लगत्तै मिङ्गमालाई गाउँलेहरूले समातेर प्रहरी चौकी नुनढाकीलाई बुझाएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले बताए । अभियुक्त मिङ्गमा मानसिक सन्तुलन ठीक नभएको छिमेकीले बताएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरी खटिसकेको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक उपचार केन्द्र चैनपुर पोष्टमार्टम गरिएको छ । कान्तिपुर