रुसमा भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्नु भएको छ । वर्तमान प्रधानमन्त्री पुटिन हिजो भएको राष्ट्रपतिय चुनावमा भारी मतले विजयी हुँदै प्रधानमन्त्रीबाट राष्ट्रपति बन्नु भएको हो । पुटिनले ६४ प्रतिशत र उहाँका निकटतम् प्रतिद्वन्द्वी गेन्नेडी ज्युगानोभले मात्र १७ प्रतिशत मत हासिल गरेको जनाइएको छ । पुटिन निर्वाचित भएलगत्तै उहाँका समर्थकहरुले खुसियाली मनाएका छन् । लगातार दुई पटक राष्ट्रपति भएर आफ्ना निकट सहयोगी दिमित्री मेदभेदेवलाई राष्ट्रपति बनाएर प्रधानमन्त्रीमा झरेका पुटिन तेस्रो पटक राष्ट्रपति बन्नुभएको हो । रुसमा एउटै ब्यक्ति लगातार तेस्रो पटक राष्ट्रपति हुन नपाउने संबैधानिक ब्यवस्था छ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै देशबासीलाई सम्बोधन गर्दै पुटिनले निरन्तर रुसको भलाईका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पुटिनका बिरोधीहरुले भने चुनाव धाँधलीपूर्ण भएको भन्दै ब्यापक बिरोध गरेका छन् । उनीहरुले पुटिनबिरुद्ध प्रदर्शन समेत गरेका छन् ।