विश्व अर्थव्यवस्थामा दोस्रो शक्तिशाली मुलुक चीनको आगामी वर्षको विकास दर विगत आठ वर्ष यताकै कम रहने अनुमान गरिएको छ ।
चीनको वार्षिक संसद सत्रको वेईजिङको ग्रेट हल अफ दि पिपुलमा उद्घाटन गर्दै चिनियाँ प्रधानमन्त्री वेन जियावाओले चीनको आर्थिक विकास अझ दिगो र प्रभावकारी बनाउन विकास दर ७ दशमलब ५ प्रतिशत हुने बताउनु भएको हो । विकास दरको यो लक्ष्य विगत आठ वर्ष यताको ८ प्रतिशत भन्दा कम हो ।
चीनको मुद्रास्फिति चार प्रतिशत रहने अनुमान गरिएको छ । करिब ३ हजार सदस्यलाई सम्बोधन गर्दै चिनियाँ प्रधानमन्त्री वेनले जमिन र सैन्य विषयलाई प्राथमिकता दिंदै किसानको लागि सम्पत्तिमाथिको अधिकार महत्वपूर्ण भएकाले स्थानीय स्तरमा देखिएका द्धन्द समाधान गर्नु आवश्यक भएको बताउनु भयो ।
जमिनमाथिको अधिकार किसानको जायजेथाको मालिक हुने अधिकार हो भन्दै उहाँले यसको अवहेलना गर्न नहुने वताउनुभयो । चीन सरकारको वार्षिक एजेण्डामा सैन्य क्षेत्रमा १ सय अर्ब डलर निवेशको घोषणा गरिएको छ । चिनियाँ प्रधानमन्त्रीले करिब ९० लाख रोजगारी दिने सरकारी योजना पनि सार्वजनिक गर्नुभएको छ ।
चिनियाँ संसदको यो सत्र अहिलेको नेतृत्वको आखिरी संसद सत्र हो । चीनमा सन् २०१२ को अन्तसम्म दश वर्षमा एक पटक हुने नेतृत्व परिवर्तन हुंँदैछ । जसमा वर्तमान राष्ट्रपति हु जिन्ताओको स्थान उपराष्ट्रपति झी लिनपिंगले लिने प्रवल सम्भावना रहेको छ ।