सिरियामा सरकार विरोधी प्रदर्शनकारी माथि सेनाले दमन गरेको प्रतिबेदन सार्वजनिक भएपछि हजारौं सिरियाली नागरिक लेवनान पलायन भएका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार दुई दिन यता मात्र २ हजार मानिस सिरियाबाट पलायन भैसकेका छन् । पलायन हुनेहरुमा महिला र बालबालिका पनि रहेको बताइएको छ । यता राष्ट्रसंघको मानवीय सहायता निकायका प्रमुख भालेरी आमोसले सिरिया सरकारले मानवीय सहायता टोलीलाई सिरियामा भ्रमण गर्न अनुमति दिएको बताएकी छिन् ।
यसअघि सिरियाली सरकारले मानवीय सहायता टोलीलाई द्धन्द्धग्रस्त क्षेत्रहरुमा सहयोग सामग्री पु-याउन अवरोध पु-याएको थियो । यता हालै मात्र संयुक्त राष्ट्रसंघ र अरब लीगद्धारा सिरियाका लागि विशेष प्रतिनिधि नियुक्त गरिएका राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान सिरियाली अधिकारीहरुसंग छलफल गर्न दमास्कस जांदै हुनुहुन्छ ।
सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भैरहेको प्रदर्शनमा ७ हजार ५ सय भन्दा बढी मारिइसकेको राष्ट्रसंघले जनाएको छ ।